तपाईंको स्वास्थ्य तपाईंकै हातमा

Blood Pressure     164 viewed 

2017-09-08


नयाँ वर्षमा ‘नयाँ पुस्ताले कुनै संकल्प गर्नुभएको छ? यस पटक आफ्नो परिवार, समाज र देशका लागि २० देखि ४० वर्ष उमेर समूहका तपाईंहरू आफ्नो स्वास्थ्यको वास्तविक स्थिति बुझेर यसलाई स्वस्थ राख्न वैज्ञानिक प्रक्रिया अपनाउने संकल्प लिनुस्।

एक स्वास्थ्य विज्ञको नाताले युवाहरूको स्वास्थ्य परीक्षण अनिवार्य हुनुपर्ने आवश्यकता टडकारो रूपमा देखेपछि यो आग्रह गरेका हुँ। मलाई थाहा छ, तपाईंहरू स्वास्थ्यको मामिलामा अत्यन्त सम्वेदनशील हुनुहुन्छ।

आमा/बुबा, हजुरआमा/ बुबाको स्वास्थ्यप्रति तपाईंहरूको सम्वेदनशीलता र उहाँहरूको स्वास्थ्यमा सकारात्मक परिवर्तनका लागि तपाईंको प्रयासहरू देख्दै आएको छु। तर यसपटक म उहाँहरूको बारेमा मात्र होइन, तपाईंहरूलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्न आग्रह गरिरहेको छु।

सोच्नुहोस्, आउने १० वर्षमा प्रत्येक परिवारमा आमाबुबा होइन, पैसा कमाउने उमेरका छोराछोरी नै उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, मधुमेह, मुटुरोगबाट ग्रसित भएर दिनहुँ २–४ वटा औषधी खाएर पनि खतराबाट मुक्त नभएको अवस्था कस्तो होला?

यस्तोमा त्यो परिवारको मात्र हैन, समस्त देशकै अर्थव्यवस्था र भविष्य ओझेलमा पर्न सक्छ। किन युवाहरूमा यस्ता समस्या देखिन थालेको हो। डाक्टरलाई भेट्ने प्रत्येक युवाले सोध्ने पहिलो प्रश्न यही हुन्छ, मलाई यो कसरी भयो? म त चुरोट/मदिरा केही पनि सेवन गर्दिन।

यो प्रश्नको उत्तर, आफ्नो अध्ययन, अनुसन्धान र अनुभवको आधारमा युवाहरूलाई सचेत गर्न, केही वैज्ञानिक तथ्यहरूलाई प्रस्तुत गर्न खोजेको हुँ। अस्वस्थ जीवनशैली, मानसिक तनाव र वातावरणीय प्रदूषण नै आजका युवाहरूमा बढ्दो नसर्ने रोगका प्रमुख ३ कारण हुन्।

धूमपानले ह्दयाघात, मस्तिष्कघात, उच्च रक्तचाप, क्यान्सरजस्ता प्राणघातक रोग लगाउँछ। अत्यधिक मदिरापानले उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, मस्तिष्कघात, ह्दयाघात, कलेजोको रोग आदि निम्ताउने जानकारी धेरैलाई हुन्छ।

तर धूमपान र मदिरापान नगर्नेलाई पनि उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, ह्दयाघात जस्ता नसर्ने रोगहरू लाग्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। २० देखि ४० वर्षका युवाहरूमा बिना कारण यस्तो समस्या देखिएमा सबै आश्चर्यचकित हुनु स्वाभाविक हो।

जुन गतिमा यी समस्याहरू युवाहरूमा देखिन थालेको छ, ठूलो चिन्ताको विषय बनेको छ। प्रत्येक दिन हजारौं युवाहरू रक्तचाप बढेर, मुटु ढुकढुक भएर, छाती दुखेर, स्वाँस्वाँ भएर, टाउको दुखेर, रिंगटा लागेर अस्पतालको बहिरंग र इमर्जेन्सी विभागमा दिनरात धाइरहेका देखिन्छन्।


अस्वस्थ जीवनशैली

अस्वस्थ आहारको सेवन र शारीरिक निष्क्रियतालाई अस्वस्थ जीवनशैली भनिन्छ। खानामा नुन, चिनी र गुलियोको मात्रा प्रशस्त हुनु र फलफूल/सागसब्जी/रेशादार खानाको प्रयोग कम हुनुलाई अस्वस्थ आहार मानिन्छ।

एउटा स्वस्थ व्यक्तिले पनि प्रत्येक दिन कम्तीमा ३० मिनेट/३ किलोमिटर छिटछिटो हिँड्नु जरुरी हुन्छ, नगरेमा शारीरिक रूपले निस्क्रिय भन्न मिल्छ। अस्वस्थ आहारको सेवन र शारीरिक निस्क्रियता एक्लैले पनि वा सँगसँगै जुनसुकै उमेरको व्यक्तिमा पनि उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, मोटोपन, मधुमेह आदि नसर्ने रोगहरू निम्त्याउन सक्छ।

सरल भाषामा भन्दा अस्वस्थ आहार र शारीरिक निस्क्रियता बैंक ब्यालेन्सजस्तै मान्न सकिन्छ। प्रत्येक दिनको आहार र शारीरिक गतिविधि तपाईको स्वास्थ्यको खातामा जम्मा हुँदै जान्छ र तपाईको जानकारीबिना नै कुनै दिन खाता पूर्ण हुन्छ र तपाई अस्पताल पुग्नुपर्ने अवस्था सिर्जना हुनसक्छ।

स्वास्थ्यको खाताको स्टेटमेन्ट भनेको रक्तचाप, सुगर, कोलेस्ट्रोलको जाँच गर्नु हो। तपाईले खाएको प्रत्येक गाँस र हिँडेको प्रत्येक पाइलाको हिसाब ‘स्वास्थ्य खाता’मा भइरहेको बुझ्नुपर्छ र समय-समयमा रक्तचाप र रगतको परीक्षण गर्नुले अचानक आउने समस्याबाट जोगिन सकिन्छ।

आफूले खानेकुरा खानुभन्दा अगाडि एकचोटी यसले गर्ने असरको बारेमा विचार गर्नु जरुरी हुन्छ। पार्टी–भोजमा, होटल–रेस्टुराँमा र घर–अफिसमा केही विचार नगरी स्वाद र पेट भर्नका लागि आउँदो भविष्यलाई जोखिममा राखेर खाएको देख्दा आश्चर्य पनि लाग्छ।

खाना खाने बेलामा स्वास्थ्यको ध्यान नदिनु हेलचेक्र्याइँ होइन, मूर्खता हो। स्वस्थ आहारको सेवन गर्नु र प्रतिदिन आफ्नो स्वास्थ्यका लागि हिँड्नु जीवनलाई निरस बनाउनु होइन। केही दिनमै त्यही खाना र हिँडाइमा रमाउन थालिन्छ, तर दुभाग्र्यवश आजका युवाहरू अस्वस्थ आहार खानु र शरीरलाई हानि गर्ने अन्य गतिविधि गर्नुलाई नै ‘रमाइलो’को संज्ञा दिने गर्छन्।


मानसिक तनाव

दृश्य वा अदृश्य रूपमा प्रत्येक मानिसको जीवनमा मानसिक तनाव हुन्छ। घरमा, बाटोमा, कार्यालयमा वा अन्य ठाउँमा प्रत्येकलाई प्रत्येक दिन थोरै–थोरै तनावको सामना गर्नैपर्छ। विगतका दशकहरूको बिगँ्रदो राजनीतिक माहोल, आर्थिक अवस्था र सामाजिक रूपान्तरणले जुनसुकै उमेर र पेसागत मानिसमा तनावको स्तर बढाएको देखिन्छ।

प्रत्येक क्षणको तनावले हाम्रो शरीरमा विशेष गरेर रक्तचाप, कोलेस्ट्रोल, मुटु र मस्तिष्कमा असर गर्न सक्छ। अत्यधिक रिस र तनावले उच्च रक्तचापमात्रै होइन, ह्दयाघात र मस्तिष्क घातको खतरा १० गुणासम्म बढाउन सक्छ। अरू माथि रिस गर्नु आफ्नै शरीरको लागि खतरापूर्ण हुनसक्छ।

आफूलाई तनावग्रस्त परिस्थितिबाट अलग राख्नु यस्ता नसर्ने रोगहरूबाट बच्ने ठूलो उपाय हुनसक्छ। युवा पिढीमा महत्त्वाकांक्षा बढी हुनु र त्यस अनुसारको अवसर नपाएको अवस्थाले नकारात्मक सोच उत्पन्न गर्ने गर्छ, जसले पछि व्यक्तिको सोच र कार्यमा नकारात्मक असर गर्ने गर्छ र सँगसँगै तनाव सिर्जना गर्छ।

विशेष गरेर अफिसमा काम गर्ने राम्रो वातावरण नहुनु, कामको अत्यधिक दबाब हुनु र आर्थिक समस्याले युवाहरूलाई असर गरेको देखिन्छ। धैर्यको कमीले तनाव र रिस उत्पन्न गर्छ। यसको उदाहरण सडकमा ट्राफिक अनुशासनको कमीले देखाउँछ।

कुनै कुरालाई सकारात्मक सोच्नु, आलोचनामा सहभागी नहुनु, कार्य सम्पादनलाई योजनागत बनाउनु, आफ्नो कामलाई प्रमुखताको आधारमा महत्त्व दिनु प्रत्येक व्यक्तिको दैनिकीमा हुनु आवश्यक हुन्छ। यसले आवश्यक तनाव उत्पन्न हुनबाट रोक्छ।


वातावरणीय प्रदूषण

नेपालका ठूलठूला सहरहरू र विशेष गरेर राजधानीमा विद्यमान प्रदूषणको अवस्था सबैलाई अवगत छ। सहरी युवाहरूमा प्रत्येक दिन घन्टौं प्रदूषणयुक्त वातावरणमा यात्रा र कार्य गर्नुपर्ने बाध्यता छ।

गाडीको धुवाँमा पाइने सूक्ष्म कणहरूले उच्च रक्तचाप, उच्च कोलेस्ट्रोलमात्रै होइन, मुटुमा ‘ब्लकेज’को समस्या निम्त्याउने तथ्य विभिन्न अनुसन्धानले देखाइसकेको छ।

प्रदूषणले गर्दा ह्दयाघात र अन्य नसर्ने रोगहरूले असंख्य मानिस र विशेष गरेर मुटुरोगीलाई अचानक मृत्युको सिकार बनाउँछ। प्रत्येक दिनको असरले फोक्सो, मुटु र सम्पूर्ण शरीरलाई भविष्यमा कस्तो असर गर्न सक्छ, सोच्दा पनि डर लाग्छ।

नसर्ने रोगहरूका जरा २०–४० वर्षकै उमेरमा गाडिन्छ। यसो हेर्दा हाम्रा अभिभावकहरू २०–४० वर्षको उमेरमा माथि उल्लेखित ३ वटै कारणबाट मुक्त थिए। त्यसैले आज हामी युवाहरू हाम्रा अभिभावकभन्दा शारीरिक रूपले नराम्रो अवस्थामा पुगेका छौँ। आजका युवाहरू जब ४०–५० वर्षका हुन्छन्, औषधी नखाने दुर्लभ नै होलान्।

मानसिक तनावको स्तर घट्नुका साटो बढ्ने संकेत बढी देखिन्छ। स्वस्थ र किटनाशक मुक्त खानाको अभाव दिन-प्रतिदिन बढ्दै गएको छ। यस्तो अवस्थामा आफूलाई शारीरिक रूपले दैनिक सक्रिय बनाउनु सर्वोत्तम उपाय हुनसक्छ। खानालाई दिन-प्रतिदिन स्वस्थकर बनाउने प्रयास अनिवार्य रूपमा हुनुपर्छ।

रेडिमेड खाना कम र प्राकृतिक खाना बढी, बाहिरको खाना कम र घरको खाना बढी, मांसाहारी कम र शाकाहारी बढी, भात कम रोटी/मकै बढी, मिठाइ कम र फलफूल/ सागसब्जी/सलाद बढी, कोल्ड ड्रिंक्स कम र पानी बढी, मासु/अन्डा कम र माछा बढी, दूध कम र दही बढी, हाम्रो दैनिकीमा हुनु जरुरी छ।


काशित: वैशाख १, २०७३

कान्तिपुर

Involvement with