मुटुरोग को पहिचान, आफैले | Dr. Om Murti Anil

मुटुरोग को पहिचान, आफैले

Chest Pain  76493 viewed 

2017-08-20


मुटुरोग को पहिचान, आफैले  !!!

संसारभरीमै सबभन्दा बढी मानिसको मृत्यु मुटुरोगले हुनेगर्छ । मुटुरोग प्राणघातक रोग हो, तर समयमै उचित उपचार नहुनु यसको जटिलताको प्रमुखकारण मानिन्छ । जनचेतनाको कमिले मुटुरोगको समयमै पहिचान नभएर लाखौ मानिस असामयिक मृत्युको शिकार हुनपुग्छन् ।

अधिकांश मुटुरोग र यसका लक्षणहरु सामान्य व्यक्तिले पनि पत्ता लगाउन सक्छन् । मुटुरोग विशेषज्ञहरुले पनि यिनै लक्षणहरुको आधारमा मुटुरोग भए नभएको पत्ता लगाउँछन् । लक्षणहरुकै आधारमा केहीजाँचहरुको मद्दतले मुटुरोगको निदान गर्ने गरिन्छ । यी लक्षणहरुको बारेमा सामान्य जानकारी भएका आफ्नो मात्रै होइन नजीकका व्यक्तिलाई पनि सही सल्लाह दिएर प्राणघातक मुटुरोगको समयमै पहिचान र उचित उपचार गर्न सकिन्छ ।

छाती दुख्नु, मुटु ढुकढुक हुनु, स्वाँस्वाँ हुनु, खुट्टा सुन्निनु, बेहोश हुनु र बढी थकाइ लाग्नु, मुटुरोगका प्रमुख लक्षणहरु हुन् । तर कुनै एउटा लक्षण हुँदैमा मुटुरोग नै भयो सोच्नु गलत होला । लक्षणहरुको राम्रो विश्लेषण (समीक्षा) गरेमा सामान्य व्यक्तिले पनि मुटुरोग भएको शंका गरेर र आवश्यकता अनुसार चिकित्सको परामर्श लिन सक्नेछन् ।

लक्षणलाई समीक्षा गर्नुभन्दा अगाडि व्यक्तिमा मुटुरोगका जोखिमहरु के कति छन् पत्ता लगाउनु जरुरी हुन्छ । चुरोटको सेवन, मुधुमेह, उच्चरक्तचाप, उच्चकोलेस्ट्रोल, मोटोपना, अत्याधिक मदीरापान, मानसिक तनाव, वंशाणुगत (परिवारमा मुटुरोग),उमेर ४० भन्दा बढी (पुरुष) र ५० भन्दा बढी (महिला)आदि रिस्क फैक्टर्स (जोखिमहरु) को बारेमा जानकारी लिनुपर्छ । एक भन्दा बढी जोखिमहरु भएमा मुटुरोगको झन् बढी संभावना हुन्छ ।

रिस्क फैक्टर्स बढी भएको व्यक्तिमा लक्षण साधारण भएपनि मुटुरोगकै शंका पहिला गर्नुपर्दछ । त्यसैगरी, रिस्क फैक्टर्स नभएका व्यक्तिमा अरु रोगको शंका पहिला गर्नु ठीक हुन्छ ।

छाती दुख्नु/ पोल्नु वा दबाबको अनुभव गर्नु मुटुरोगको प्रमुख लक्षण मानिन्छ, तर यस्ता लक्षणको कारण पेटको समस्या (ग्यास्ट्रिक), मांसपेशी/करंङ्गको दुखाई, फोक्सो आदिले पनि हुनसक्छ । मुटुको दुखाई हिंडदा वा उक्लिदा बढ्ने र आराम गरेपछि कम हुने प्रकृतिको हुन्छ । खोक्दा, दुखेको ठाउँमा दबाउदा, हल्लिदा, सासफेर्दा मुटुको दुखाईमा परिवर्तन हुँदैन र मुटु बाहेकका कारणमा यस्तो हुनसक्छ । मुटुको दुखाइ छातीको बीच वा द्रेब्रे भागको ठूलो हिस्सामा दुख्ने, घाँटी वा हातमा दुखाई सर्ने हुन्छ । छातीको सानो भागमा ५ वर्ग से.मी. क्षेत्रफल भन्दा कम भएमा प्राय: मुटुको  नभएर मांसपेशीको दुखाइ ले हुन्छ ।

मुटुको दुखाई कहिलेकाँही माथिल्लो पेटमा (ग्यास्ट्रिकको ठाउँ) पनि हुनसक्छ । छाती दुख्नु संगसंगै पसिना आउनु, स्वाँस्वाँ हुनु, मुटु ढुकढुक पनि भएमा मुटुरोगको कारणले हो बुभ्mनु पर्छ । स्वाँस्वाँ हुनुको कारणमा फोक्सो, मोटोपना, गर्भावस्था, शारीरिक निष्कृयता, रगतको कमि (एनिमिया) प्रमुख हो तर मुटु कमजोर भएमा (हार्टफेल्योर), रक्तचाप अत्याधिक भएमा पनि स्वाँस्वाँ हुनसक्छ । प्राय: उत्तानो सुत्दा बढ्ने हुन्छ वा अलिकति हिड्ने बित्तिकै स्वाँस्वाँ हुनु, थकाइलाग्नु मुटुरोगको लक्षण हुनसक्छ । आफ्नो उमेरको हिसाबले (दुरी/गति) हिड्न नसक्नु वाबीचमा रोकिने अवस्था आउनु मुटुरोगको लक्षण हुनसक्छ ।

मुटु ढुकढुक हुने प्रमुख कारण मानसिक तनाव, रगतको कमि, मोटोपना, दुब्लोपना, अनियन्त्रित रक्तचाप, गर्भावस्था, शारीरिक निष्कृयता आदिले हुन्छ । यस्तो अवस्थामा कामगर्दा, हिड्दा ढुकढुक बढ्ने र आराम गर्दा कमहुने गर्दछ । तर मुटुरोगको कारणले ढुकढुक जुनसुकै बेला हुनसक्छ, प्राय: केही सेकेण्डको लागि मात्रै धड्कन रोकिएको जस्तो वा जोड्ले धड्किने वा छातीको बिचमा हलुङ्गो हुने वा स्वाँस रोकिएको जस्तो अनुभव हुने गर्दछ ।

खुट्टा सुन्निने प्रमुख कारण मोटोपना, गर्भावस्था, उभिराख्ने वा बसिराख्ने पेशा, मृगौला र मुटुरोग हुन्छ । सिकिस्त कारण भएमा खुट्टा संगसंगै पेट र अनुहार पनि सुन्निएको हुन्छ । प्राय: उच्चरक्तचापको औषधिले पनि यस्तो हुन्छ, जुन सामान्य मानिन्छ । खुट्टा सुन्निएको संगसंगै स्वाँस्वाँ भएमा वा अन्य लक्षण देखिएमा मुटु र मृगौलाको जाँच जरुरी हुन्छ ।

बेहोश हुनु वा बेहोश हुन खोज्नु मुटु/मस्तिष्क/मानसिक आदिकारणले हुनसक्छ । स्वस्थ व्यक्ति बेहोश भएमापनि एकपटक जाँच गर्नुपर्छ तर मुटु वा अन्य दीर्घरोगी बेहोश हुनु सिकिस्त कारण हुनसक्ने भएकोले तुरुन्त जाँच र उपचार गर्नु उचित हुन्छ ।

थकाई लाग्नु सामान्य पनि हुनसक्छ, तर आफ्नो दैनिकीमा अत्याधिक थकाइ लाग्नुको केहीकारण हुनसक्छ । भिटामिन डीको कमी, मोटोपना, अनिन्द्रा बाहेक मुटुरोग पनि एक कारण हुनसक्छ । मुटु कमजोर हुनु (हार्ट फेल्योर), धड्कन बढी हुनु, जन्मजात रोगहरु र बाथ मुटुरोगमा यस्तो लक्षण हुनसक्छ । थकाई संगसंगै अरु लक्षण पनि देखिएमा परामर्श लिनु जरुरी हुन्छ ।

डा. ओममूर्ति अनिल

मुटुरोग विषेशज्ञ

Written By:

Dr. Om Murti Anil

MBBS, MD, DM Cardiology(AIIMS)


Related Articles

Most Viewed Articles

Recent Articles

Involvement with