उच्च रक्तचापमा औषधि : भ्रम र यथार्थ

Blood Pressure     7990 viewed 

2017-09-08


" विज्ञान र अनुसन्धानलाई मान्ने हो भने उच्च रक्तचापको औषधी खानु ठूलो बुद्धिमानी हो र नखानु मूर्खता । "


पहिलोपटक ह्दयाघात भएकामध्ये ६९ प्रतिशत, मस्तिष्कघातको ७७ प्रतिशत र हार्ट फेल्योरको ७४ प्रतिशत बिरामीमा उच्च रक्तचाप भएको पाइन्छ । वर्षेनि संसारभरिमै हुने मृत्युको सबभन्दा बढी (१ करोड ७० लाख/एक तिहाइ) मुटु र रक्तनली सम्बन्धी रोग (कार्डियो भास्कुलर डिजिज) ले हुने गर्छ । त्यसमा ह्दयाघात र मस्तिष्कघात प्रमुख २ कारण हुन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार मुटुरोगले हुने मृत्युको ४५ प्रतिशत र मस्तिष्कघातले हुने मृत्युको ५१ प्रतिशत (अर्थात ९४ लाख) मानिस वर्षेनि उच्च रक्तचापको जोखिमले असामयिक मृत्युका सिकार हुने गरेको छ । वर्षेनि संसारभरि सबभन्दा बढी मानिसको मृत्यु उच्च रक्तचापले हुने गर्छ ।

विश्वका २५ वर्ष माथिका ४० प्रतिशत र १८ वर्ष माथिका २२ प्रतिशतमा उच्च रक्तचाप भएको पाइन्छ । यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनको दक्षिण—पूर्व एसिया क्षेत्रसँग मिल्दोजुल्दो हो । नेपालमा विभिन्न अध्ययनहरूको आधारमा लगभग ३० प्रतिशत वयस्कमा उच्च रक्तचाप भएको पाइन्छ ।

काठमाडौं उपत्यकामा गतवर्ष हामीले गरेको एक अध्ययनमा पहिलादेखि थाहा नभएको ३० प्रतिशत वयस्कहरूमा उच्च रक्तचापको अवस्था फेला परेको थियो । नेपालजस्ता निम्न र मध्ययम आय भएका राष्ट्रहरूमै उच्च रक्तचापको बिरामीहरू बढी भएका र यसबाट हुने मृत्यु पनि बढी हुने गरेको देखिन्छ । सन् २००८ मा १०० करोड मानिसको रक्तचाप नियन्त्रणमा नभएको तथ्यांक छ ।

कुनै पनि लक्षण नै नदेखाई भित्रभित्रै मस्तिष्क, मृगौला र रक्तनलीहरूमा असर गरेर अचानक मृत्युको मुखमा पुर्‍याउने भएकाले उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ पनि भन्ने गरिन्छ ।

अचानक कुनै दिन ह्दयाघात, मस्तिष्कघात, हार्ट फेलियर, मृगौला रोग आदिका समस्या भएपछि मात्रै उच्च रक्तचाप भएको थाहा हुने भएकाले दुर्घटना हुनुभन्दा पहिले नै यसको पहिचान, उपचार र नियन्त्रण गर्नु जरुरी देखिन्छ ।

यो तथ्यलाई अस्वीकार गर्नेहरूमा सजिलैसँग १–२ वटा औषधी खाएर नियन्त्रण हुने, उच्च रक्तचापले अत्यन्तै जोखिमपूर्ण रोगको रूपमा आफ्नो उपस्थिति कुनै बेला पनि देखाउन सक्छ ।

उच्च रक्तचापको लक्षण प्राय: नदेखिने भएकाले यसको समयमै पहिचान, उपचार वा नियन्त्रण गर्न अप्ठ्यारो भएको हो । कुनै पनि व्यक्तिले केही अप्ठ्यारा नै नभएको अवस्थामा कुनै पनि औषधी लामो समयसम्म खान नखोज्नु स्वाभाविक हो ।

केही समस्या वा लक्षण नै नभइकन सम्भावित ‘साइड इफेक्ट’ हुने, महँगो औषधी बाँचुन्जेल खानु कसैको पनि चाहना हुँदैन । प्राय: उच्च रक्तचापको लक्षण हुँदैन र औषधीले गरेको फाइदा पनि बिरामीले थाहा पाउँदैन । यो त रक्तचाप जाँच्दामात्रै थाहा हुन्छ कि रक्तचाप नियन्त्रण भयो ।

तर यसबाट हुने फाइदाहरू अदृश्य भए पनि निश्चित हुन्छ । जुन विज्ञानले पनि प्रमाणित गरेको छ र यो तथ्यसँग प्रत्येक व्यक्ति सहमत हुनुपर्छ ।

अप्ठ्यारो भएको अवस्थामा प्रयोग गरिने औषधीले स्वास्थ्यलाभ हुने र बिरामीलाई सजिलो हुने हो भने सबैले त्यो उपचार स्वीकार्छन् । तर एउटा सम्भावित अदृश्य फाइदाका लागि लामो समयसम्म औषधी खानु कसैका लागि सजिलैसँग स्वीकार्य हुँदैन । तर बुझ्नुपर्ने कुरा के हो भने उच्च रक्तचापको नियन्त्रण एउटा उपचारभन्दा पनि रोकथाम हो ।

जसरी बालबालिकालाई केही समस्या नै नभई भविष्यको संक्रमणबाट बचाउन खोप दिने गरिन्छ, ठिक त्यसरी नै उच्च रक्तचापलाई नियन्त्रणमा राख्न औषधीको प्रयोग गर्नु एउटा रोकथाम हो । यसले भविष्यमा हुनसक्ने प्राणघातक रोगहरू लाग्नबाट बचाउँछ ।

यो फाइदा अदृश्य भए पनि, तुरुन्तै नदेखिए पनि, उपचार महँगो भए पनि औषधी लामो समयसम्म (बाँचुन्जेल होइन) खानुपर्ने भए पनि, अलिअलि र साधारण साइड इफेक्ट (रोकथाम गर्न मिल्ने) भए पनि उच्च रक्तचापको नियन्त्रणका लागि गरिने औषधी लगायतका प्रयासहरू अत्यन्तै लाभकारी र निश्चित मान्नुपर्छ ।

 

उचित तरिकाले सही औषधी, सही मात्रा र सही समन्वयमा बिरामीको स्वास्थ्य, आर्थिक र सामाजिक अवस्थालाई ध्यान पुर्‍याएर उपचार गरिएमा बिना केही नोक्सान अनेक प्राणघातक रोगहरूबाट सजिलै बच्न सकिन्छ ।

प्रत्येक व्यक्ति, परिवारका सदस्य, चिकित्सक, पारामेडिक्स, औषधी पसलेहरूले बिरामीलाई औषधीको उचित प्रयोगका लागि सदैव प्रोत्साहित गर्न जरुरी देखिन्छ ।

उच्च रक्तचापको औषधीका अनेकौं फाइदा हुँदाहुँदै पनि हामीमध्ये धेरैले डाक्टरको सल्लाह विपरीत औषधी खाँदै नखाने, औषधीको मात्रालाई घटबढ गर्ने, प्रयोग अनियमित गर्ने, कहिले खाने कहिले नखाने र कहिलेकाहीं त औषधी बन्दै गर्ने पनि गर्छन् ।

एकपटक औषधी सुरु गरेर नियन्त्रणमा रक्तचाप आइसकेपछि (१२०/८०) अचानक बन्द गरेमा (आफैंले डाक्टरको सल्लाह बिना) रक्तचाप एक्कासी बढ्न सक्छ ।

यसलाई ‘रिबाउन्ड फेनोमेनन’ भनिन्छ । औषधी बन्द गर्दा अचानक रक्तचाप बढेर मस्तिष्कघात, ह्दयाघात जस्ता घटनाहरू आइपर्ने सम्भावना बढी हुन्छ । बरु डाक्टरको सल्लाहअनुसार रक्तचाप १२०/८० भन्दा कम भएमा विस्तारै मात्रा घटाउन मिल्छ । तर नियमित रक्तचाप जाँच गरिराख्न जरुरी हुन्छ ।

आफ्नै स्वास्थ्यमाथि प्रतिकूल असर हुनेगरी कसैले किन औषधी नखाने, मात्रा घटाउने, अनियमित खाने, बन्द गर्ने गर्छन् त ? वर्षौंदेखिको बिरामीसंँगको छलफल, अन्तरक्रिया र अनुभवको आधारमा निम्न कारणहरू हुनसक्ने निष्कर्षमा पुगेको छु । यसको सबभन्दा प्रमुख कारण हो : उच्च रक्तचाप र यसमा प्रयोग गरिने औषधीका बारेमा जानकारीको कमीले समाजमा फैलिएका भ्रमहरू जस्तै :

  1. उच्च रक्तचापका औषधीहरू लामो समयसम्म प्रयोग गर्दा साइड इफेक्ट हुन्छ । यो गलत धारणा हो । बेला—बेलामा रगतको जाँच गरेर औषधीको साइड इफेक्ट पत्ता लगाउने गरिन्छ । डाक्टरको निगरानीमा बसेर उपचार गर्दा साइड इफेक्टको चिन्ता नै लिनु पर्दैन ।
  2. यसले मृगौलालाई असर पार्छ । यो विलकुलै गलत हो । उच्च रक्तचापका औषधीहरूले झन् मृगौला रोग लाग्नबाट बचाउँछ र कुनै—कुनै औषधी त मृगौला रोगीका लागि झन् फलदायक मानिन्छ र रोग निको बनाउन मद्दत पुर्‍याउँछ । बरु औषधी नखाएमा मृगौला रोग लाग्न सक्छ ।
  3. बानी पर्छ र छुटाउन मिल्दैन । उच्च रक्तचापका औषधीहरू बानी नपर्ने हुन्छन् । जति दिन प्रयोग गरेपछि पनि छाड्न वा घटाउन मिल्छ । तर आम जनताले बुझेको कुरा फरक हो । रक्तचाप बढेको बेलामा औषधी खाएर नियन्त्रणमा ल्याएपछि औषधी अचानक छोड्न मिल्दैन । जुन कारणले रक्तचाप बढेको हो, त्यसलाई बरु नियन्त्रणमा लिइयो भने रक्तचाप स्वत: घट्न थाल्छ र औषधीको आवश्यकता कम हुने र बन्दै गर्न पनि मिल्छ । तर आफ्नै जीवनशैलीमा सुधार नगरेमा रक्तचाप नियन्त्रण गर्ने उपाय औषधीमात्रै हुन्छ, जसलाई घटाएपछि वा बन्द गरेपछि फेरि पहिलाकै अवस्थामा जान्छ, जसलाई आम मानिसले भ्रमवश बानी परेको बुझ्छन्, जुन गलत हो ।
  4. बाँचुन्जेल खानुपर्छ । हो, तपाईंले आफ्नो जीवनशैलीमा परिवर्तन गर्नुभएन भने यो औषधी बाँचुन्जेल खानुपर्ने हुनसक्छ । तर सुरुमा यो सोचेर औषधी नखानु गलत मानसिकता हो । किनभने औषधी सुरु गरेपछि जीवनशैलीमा सुधार गरेमा पछि घटाउने वा बन्द गर्ने पनि हुनसक्छ ।

तर अधिकांश बिरामीलाई रक्तचापको औषधी लामो समयसम्म (बाँचुन्जेल होइन) खानुपर्ने हुन्छ । ५० वर्ष मुनिका अधिकांश बिरामीमा हामीले औषधी सुरु गरेको केही महिनापछि घटाउन प्रयास गर्ने गर्छौं ।

कति दिनसम्म, कति मात्रा खाने हो, यो कुरा तपाईको स्वास्थ्य अवस्था, रक्तचापको जटिलता, जीवनशैली, उमेर, वंशाणुगत, मोटोपना आदि कुरामा भर पर्छ, जुन डाक्टरको अनुभवले निर्णय गर्ने कुरा हो ।

जनचेतना बाहेक अर्को प्रमुख कारण हो, स्वास्थ्यप्रतिको असंवेदनशीलता, आर्थिक समस्या र औषधीको उपलब्धता । केही व्यक्ति बानीले पनि स्वास्थ्यप्रति धेरै सजग हुँदैनन् ।

औषधी सकिएपछि नकिन्ने, डाक्टरसँग भेट्न ढिलो गर्ने, २–४ दिन औषधी नखाए केही फरक पर्दैन भनी सोच्ने आदि प्रवृत्ति भएका प्रशस्त मान्छे हुन्छन् र समस्यामा पनि यिनीहरूमै पर्ने गर्छन् । कहिलेकाहीं चिकित्सकले एउटा गरिब व्यक्तिलाई महँगो औषधी र सजिलैसँग सबै ठाउँमा नपाउने औषधी लेख्नु भनेको लामो समयसम्म निरन्तर औषधीको सेवन नहुनुको एउटा प्रमुख कारण हुनसक्छ

त्यसैले प्रत्येक बिरामी आफूले सेवन गर्ने औषधी पर्याप्त रूपमा राख्ने, बिनाकारण र डाक्टरसँग परामर्श नगरी बन्द नगर्ने, महँगो भएमा वा उपलब्धता असहज भएमा चिकित्सकसँग आफूलाई सुहाउँदो औषधी फेर्न लाउने आदि कुरा उच्च रक्तचापको उपचारमा अत्यन्तै महत्त्वपूर्ण हुनसक्छ ।

निम्न र मध्ययम आय भएका राष्ट्रहरूमा कमजोर स्वास्थ्य प्रणालीले गर्दा उच्च रक्तचापको पहिचान, उपचार र नियन्त्रणमा समस्या भएको देखिन्छ ।

स्वास्थ्य सेवाको प्रत्येक स्तम्भमा उच्च रक्तचापको प्राथमिकता दिनसकिएमा सिंगै राष्ट्रको नसर्ने रोगको मृत्युको संख्यामा उल्लेखनीय गिरावटमात्र होइन कि देशकै सामाजिक र आर्थिक स्तरमा ठूलो सुधारको अपेक्षा गर्न सकिन्छ । किनभने नसर्ने र मुटुरोगबाट मर्ने ८० प्रतिशत मानिस आर्थिक रूपले पिछिडिएका राष्ट्रहरू हुने गरेको पाइन्छ । तीमध्ये ६० प्रतिशतभन्दा बढी पैसा कमाउने उमेरका व्यक्ति हुन्छन् ।

सस्तो औषधीको प्रयोगले उच्च रक्तचापको राम्रो नियन्त्रण हुनु भनेको पछि गएर मुटुरोग, मृगौला रोग, मस्तिष्कघातको उपचारको खर्चमा लाखौँ रुपैयाँको बचत गर्नु पनि हो ।

परिवारको सबभन्दा प्रमुख व्यक्ति जीवित र स्वस्थ हुनु पनि हो । अर्थात उच्च रक्तचापको राम्रो नियन्त्रण प्रत्येक बिरामीको स्तरमा हुनसकेमा राष्ट्रकै स्वास्थ्य सामाजिक र आर्थिक उन्नतिको ठूलो प्रयासको रूपमा लिन सकिन्छ ।

उच्च रक्तचापका प्रमुख कारणहरूमा अस्वस्थ आहार (नुनिलो/ चिल्लो), मदिरा, चुरोटको सेवन, मोटोपन, शारीरिक गतिविधिमा कमी, बढ्दो उमेर र वंशाणुगत हुनसक्छन् ।

प्रत्येक स्वस्थ व्यक्तिमा माथि उल्लेखित कुनै न कुनै कारण अवश्य हुन्छन् । यसले गर्दा एउटा व्यक्तिको रक्तचाप भविष्यमा नियन्त्रणमा हुनु वा घट्नुको साटो बढ्नु स्वाभाविक प्रक्रिया मान्नुपर्छ ।

तसर्थ प्रत्येकले आफ्नो रक्तचापलाई सामान्य अवस्था (१२०/८० भन्दा कम) मा राख्न निरन्तर प्रयास गरिराख्नुपर्छ । अहिलेको अवस्थामा उच्च रक्तचापको प्रमुख कारण नै अस्वस्थ जीवनशैली भएकाले आफ्नो दिनचर्यामा निरन्तर स्वस्थकर सुधार गर्नु आवश्यक छ ।

आम मानिसले मात्रै होइन, बुद्धिजीवी र स्वास्थ्यकर्मीहरू समेतले विभिन्न कारण देखाएर औषधीको प्रयोग नगरेका देखिन्छन् वा प्रयोग गर्न हिच्किचाउँछन् । प्रत्येक डाक्टरले पहिलोपटक आफ्नो बिरामीलाई उच्च रक्तचापको औषधी सुरु गर्न बिरामीलाई सहमत गराउन निकै परिश्रम गर्नुपर्ने हुन्छ र प्राय: असफल नै हुन्छन् ।

तर रक्तचापलाई नियन्त्रणमा राख्ने सबभन्दा विश्वसनीय तरिका औषधीको प्रयोग गर्नु नै हो । औषधीको सही प्रयोगपश्चात रक्तचाप नियन्त्रणमा आउने प्राय: निश्चित हुन्छ । तर यसबाहेक अरू माध्यमले रक्तचाप नियन्त्रणमा आउने ढिलो र अनिश्चित हुन्छ ।

औषधीको प्रयोग प्रत्येक उच्च रक्तचापको रोगीका लागि फाइदाजनक मानिन्छ ।

बिभिन्न अनुसन्धानले उच्च रक्तचापको औषधीले ह्दयाघात, मस्तिष्कघात, मृगौला रोग र अन्य प्राणघातक रोगबाट हुने शारीरिक क्षतिमात्रै होइन, मृत्युबाट समेत बचाउँछ । त्यसैले उच्च रक्तचापका लागि औषधी खाने कि नखाने भनी सोच्नु वा द्विविधामा पर्नु ब्यर्थ हो ।

प्रकाशित: पुस १५, २०७२

कान्तिपुर

Involvement with