मुटुलाई माया नगर्दा

Heart Attack     230 viewed 

2017-09-08


संसारभरि प्रत्येक वर्ष १ करोड ७५ लाख मानिसको मृत्यु मुटु तथा रक्तनली सम्बन्धी रोग (कार्डियो भास्कुलर डिजिज) ले हुने गर्छ, जुन कुल मृत्युको एक तिहाइ र नसर्ने रोगको कारणले हुने मृत्युको आधाजति हो । नेपाल जस्तै निम्न र मध्यम आय भएका राष्ट्रहरूमा यो रोगको प्रकोप झन् बढी भएको देखिन्छ । मुटुरोगले हुने ८० प्रतिशत मृत्यु यस्तै राष्ट्रहरूमा हुने गर्छ । यसको प्रमुख कारण आर्थिक अवस्था, दक्ष जनशक्तिको अभाव र उपचार सेवाको असुविधा मानिन्छ । विकसित राष्ट्रहरूको तुलनामा विकासोन्मुख राष्ट्रहरूमा पैसा कमाउने उमेरका मानिसमा यो रोगको प्रकोप झन् बढी भएको देखिन्छ । यसले गर्दा राष्ट्रको आर्थिक र सामाजिक अवस्थामा प्रतिकूल असर पर्ने गर्छ । अत्यधिक मदिरा सेवन, धूमपान, अस्वस्थ आहार र शारीरिक गतिविधिमा कमी मुटुरोगका ४ प्रमुख कारण हुन् । यी ४ कारणलाई नियन्त्रण गरेमा असंख्य युवालाई असामयिक मृत्युको जोखिमबाट बचाउन सकिन्छ ।

मुटुरोगको उच्च जोखिम

नेपाल सरकारको प्रतिवेदनअनुसार आधाभन्दा बढी मानिसको मृत्यु नसर्ने रोगबाट भएको अनुमान गरिएको छ । तर वास्तविक अवस्था अनुमानभन्दा निकै फरक हुनसक्छ । विगतका केही वर्षमा गरिएका अध्ययनहरूमा नसर्ने र मुटुरोगको जोखिम (रिस्क फ्याक्टर्स) को व्यापकताले ठूलो खतराको संकेत गरिसकेको छ । मुटुरोग लाग्ने जोखिममध्ये कम्तीमा एउटा लगभग सबै वयस्क नेपालीमा भएको स्टेप्स सर्वेक्षणले देखाएको छ भने सहरमा बसोबास गर्ने र आधुनिक जीवनशैलीमा रमाउने सहरिया बासिन्दामा त झन् बढी मुटुरोग लगाउने कारण भेटिएका छन् ।

मुटुरोग र यसका कारणबारे कम जानकारी हुनु, समस्या नभएसम्म जाँच नगराउनु, मुटुरोगका लक्षणबारे ज्ञान नभएर उपचारमा ढिलाइ हुनु, मुटुरोगको जोखिमको लागि औषधी प्रयोग गर्न हिचकिचाउनु आदि कारणले गर्दा मुटुरोगको प्रकोप बढ्दै गइरहेको छ । जनचेतनाको कमी र आर्थिक कमजोरीले गर्दा मुटुरोगको पहिचान र उपचार समयमै नहुँदा जटिलता उत्पन्न हुने गरेको छ ।


नेपालमा मुटुरोगको उपचार महँगो भएको र यसको सुविधा पनि काठामाडौं बाहिर न्युन भएकै कारणले समयमा उचित उपचार नपाएर अल्पायुमै हजारौं नेपालीको असामयिक निधन हुने गरेको छ । भौगोलिक जटिलताले यो समस्यालाई झन् बढाएको छ । गरिबी र अशिक्षाले पनि मुटुरोगको प्रकोपलाई बढाउँछ । युवामा स्वास्थ्यबारे लापरबाही, दिन—प्रतिदिन बिग्रिँदै गएको जीवनशैली, मानसिक तनाव, आर्थिक समस्या, शारीरिक गतिविधिमा कमी, वातावरणीय प्रदूषण आदि कारणले मुटुरोगको जोखिमले झन् डरलाग्दो रूप लिन सक्छ ।

गाउँमा बसोबास गर्ने र शारीरिक रूपले परिश्रम गर्ने व्यक्तिमा मुटुरोगको जोखिम कम पाइन्छ । सहरी वातावरणमा बसोबास गर्ने युवामा नै मुटुरोगको जोखिम बढी देखिन्छ । यी युवाको जीवनशैलीमा सुधार र स्वास्थ्यबारे सचेतना र सतर्कता समयमै नआएमा भोलिको समस्याले भयावह रूप लिने सम्भावना प्रबल हुँदै जान्छ । जुन गतिमा २०–४० वर्ष उमेरका युवामा उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, मोटोपन, मानसिक तनाव, शारीरिक निष्क्रियता, अस्वस्थ आहार आदिको व्यापकता बढ्दै गइरहेको छ र यसको पहिचान तथा उपचारमा धेरैको ध्यान नगएको देखिन्छ । आउने ५–१० वर्षभित्र यी युवाले १–२ वटा रोगको लागि औषधीको प्रयोग गर्नुपर्ने अवस्था आउँछ भन्ने कुरामा मलाई शंका लाग्दैन । यिनै युवा १०–२० वर्षपछि मुटुरोगको सिकार हुनपुग्छन् । यिनीहरू मुटुरोगको जोखिमले प्रवेश गरिसकेको तथ्यबाट अनभिज्ञ भएकै कारण स्वास्थ्य सजगता नअपनाएको देखिन्छ ।

यो रोगको थालनी कसरी हुन्छ ?

एउटा पूर्णरूपले स्वस्थ (मुटुरोगको जोखिम नभएको) व्यक्तिलाई ह्दयाघात वा मस्तिष्कघात हुने अपवादमात्रै हो । कुनै पनि जोखिम नभएको व्यक्तिले अनावश्यक हृदयाघातको डर मनमा लिन जरुरी हुँदैन । तर दुर्भाग्यवश प्रत्येक सहरी नेपाली वयस्क व्यक्तिमा कुनै न कुनै मुटुरोगको जोखिम रहेको तथ्यांकले देखाउँछ । बाहिरबाट हेर्दा स्वस्थ देखिने र कुनै पनि लक्षण नभएको व्यक्तिलाई पनि जाँच गर्दा साना–ठूलो समस्या भएकै पाइन्छ । त्यसैले पूर्णरूपले जाँच नगरेसम्म आफूलाई स्वस्थ ठान्नु नै गलत हो ।

हुन त ह्दयाघात र मस्तिष्कघात अचानक हुने रोग हो, तर शरीरमा यसको बिजारोपण वर्षौंअघि नै भइसकेको हुन्छ । ह्दयाघात वा मस्तिष्कघातको अवस्थामा पुग्नुभन्दा अघि उच्च रक्तचाप, उच्च कोलेस्ट्ेरल, मधुमेह, अत्यधिक मदिरा सेवन, धूमपानजस्ता जोखिम भएकै हुन्छ । यी जोखिमको समयमै पहिचान वा रोकथाम नभएर मानिस असामयिक ठूलो दुर्घटनामा पर्ने गर्छन् । यस्ता जोखिम भएका व्यक्तिमा केही वर्षमा विस्तारै—विस्तारै मुटु वा मस्तिष्कको रक्तनलीमा ‘ब्लकेज’ भएको हुन्छ (जुन बिरामीलाई थाहै हुँदैन), जसको कुनै लक्षण पनि नहुन सक्छ । अचानक यही रक्तनलीमा अवरोध भएर ह्दयाघात वा मस्तिष्कघात हुने गर्छ । मुटुरोगका जोखिम पनि अचानक कुनै दिन टुप्लुक्क आइपुग्दैन । विस्तारै—विस्तारै प्रवेश गर्छ ।

पहिला हाम्रो जीवनशैली बिग्रिन्छ । अस्वस्थ आहारको सेवन, शारीरिक निष्क्रियता, मानसिक तनाव आदिले केही वर्षमै उच्च रक्तचाप, मधुमेह र उच्च कोलेस्ट्रोल तथा मोटोपनजस्ता मुटुरोगका जोखिम भित्र्याउँछ । यसमा मदिरापान र धूमपान पनि थपिएमा समस्या झन् तीव्र गतिले बढ्छ । जीवनशैली फेरि विस्तारै बिग्रिने भएकोले आफूले गरेको गल्तीको आभास पनि त्यो व्यक्तिलाई हुँदैन र उसले केही परिवर्तन गर्न आवश्यक पनि ठान्दैन ।

खेलकुद नगर्ने, जंक फुड खाने, सागपात, फलफूल नखाने, तौल बढ्ने, घरभित्र बढी बस्ने आदि क्रियाकलापले आउने ५–१० वर्षमै मुटुरोगको जोखिम निम्त्याउने सम्भावना देखिन्छ । मुटुरोगका जोखिम भएका २०–४० वर्षको व्यक्तिमा ५–१० वर्षभित्र मुटुरोग लाग्ने सम्भावना भएको हुँदा भोलिको अवस्था कल्पनाभन्दा बढी भयावह हुनसक्छ ।

यदि समयमै बालबालिकाको जीवनशैलीलाई सुधार नगरेमा २०–४० वर्षका आफूलाई स्वस्थ भन्दै हिँड्ने मोजमस्तीमा लिप्त हुने र स्वास्थ्यलाई प्राथमिकता नदिनेहरूले सोचमा परिवर्तन नगरेमा, आउने १–२ दशकमै समस्त समाज मुटुरोग महामारीको चपेटामा पर्नेछ । त्यो अवस्थालाई गरिब राष्ट्रको नागरिकको आर्थिक हैसियतले थेग्न नसक्ने भएकोले स्वास्थ्य क्रान्तिको आवश्यकता महसुस भएको छ । आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने, सतर्क रहने र जीवनशैलीलाई सपार्दै लाने व्यक्तिका लागि यो समस्या ठूलो होइन ।

मुटुरोगको प्रकोपबाट बच्न व्यक्ति र परिवारको स्तरबाट केही आवश्यक परिवर्तन गर्नु जरुरी देखिन्छ । यसलाई ठूलो चुनौतीको रूपमा लिन जरुरी हुन्छ । यसको लागि निम्न कुरामा परिवर्तन गर्न जरुरी देखिन्छ :

प्रथम : सोचाइमा परिवर्तन

केही समस्या वा लक्षण नहुँदै जाँच गराउनु, जोखिमलाई नियन्त्रण गर्न औषधीको समयमै प्रयोग गर्नु, आज गरेको गतिविधिले भोलिको स्वास्थ्यलाई असर गर्छ भन्ने बुझ्नु, रोकथाम गर्नु सजिलोमात्रै नभई सस्तो पनि हुने यथार्थलाई आत्मसात गर्नु आदि महत्त्वपूर्ण कुराको बुझाइमा परिवर्तन हुन जरुरी छ । ‘आज ठिकै छु, भोलि भए हेरांैला’ भन्ने सोचले ठूलो हानि निम्त्याउँछ । बालक र युवालाई स्वास्थ्यबारे सतर्कता र स्वस्थ जीवनशैलीको महत्त्वबारे बुझाउनु आवश्यक छ ।

दोस्रो : स्वास्थ्यमा लगानी

शिक्षामा, व्यापारमा लगानी गर्नुपर्छ भन्ने कुरा सबैलाई थाहा छ, तर स्वास्थ्यभन्दा ठूलो सम्पत्ति केही होइन भन्ने थाहा हुँदाहुँदै हामीमध्ये अधिकांशले आफ्नो वार्षिक कमाइको १ प्रतिशत पनि शरीरलाई स्वस्थ राख्न खर्च गर्न हिचकिचाउँछांै । स्वास्थ्य बिमाको प्रचलन नभएको अवस्थामा अमूल्य शरीरलाई प्राणघातक मुटुरोगबाट बचाउन नियमित रूपले केही खर्च गर्नु नै बुद्धिमानी हो । वार्षिक केही हजार स्वास्थ्य जाँचमा खर्च गर्नु (परिवारको प्रत्येक सदस्यका लागि) जरुरी छ । फेरि रोकथामका लागि गरिने आजको खर्चले उपचारमा लाग्ने भोलिको ठूलो खर्च हुनबाट बचाउन सक्छ । त्यसैले हामीले अरू क्षेत्रमा गरेको लगानीभन्दा पनि स्वास्थ्य क्षेत्रमा लगानीको प्राथमिकता दिनु आवश्यक छ । भोज, पार्टी, मनोरञ्जन, विलासिता आदिमा हजारौं/लाखौं खर्चिनेहरूले जब स्वास्थ्य जाँचमा कञ्जुस्याइँ गर्ने गर्छन्, आश्चर्य लाग्छ । अभिभावकले आफ्नोमात्रै होइन, बालबालिको सोचाइमा समेत परिवर्तन ल्याउनुपर्छ, उनीहरूलाई स्वास्थ्यप्रतिको संवेदनशीलता मनन गराउनुपर्छ र स्वास्थ्यमा खर्च गर्ने बानी सानैदेखि बसाल्नुपर्छ । स्वास्थ्यमा लगानीले अरू कुराभन्दा प्राथमिकता पाउनुपर्छ ।

पैसाको मात्रै होइन, समयको लगानी पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । स्वास्थ्यको लागि समय नभएका व्यस्त मानिसले भोलि ठूलो नोक्सान बेहोर्नुपर्ने दिन आउँछ र जुन कुराको लागि आज व्यस्त भइन्छ, त्यही कुरा भोलि रोगी भएपछि काम नलाग्ने अवस्था आएपछि पश्चाताप गर्नुको विकल्प रहँदैन । समयमै यी कुरालाई आत्मसात गरी दिनको १ घन्टा आफ्नैलागि, आफ्नो स्वास्थ्यको लागि छुट्याउनु ठूलो बुद्धिमानी हो । आजको दिनमा मोबाइल, टिभी, कम्प्युटर आदिमा १ घन्टाभन्दा बढी समय नबिताउने बिरलै होलान् ।

तेस्रो : रीतिरिवाजचालचलन/व्यवहारमा परिवर्तन

चाडपर्व वा रमाइलो गर्ने बेलामा, भेटघाटको बेलामा वा कोसेलीको रूपमा मिठाइ, चकलेट वा अन्य गुलियो चिल्लो खाने कुराको प्रयोग गर्नुको सट्टा फलफूल वा ड्राइफुडको चलन बसाल्नुपर्छ । मांसाहारी खाने र खुवाउने बेलामा थपी—थपी खाने बानी त्याग्नुपर्छ । खाने बेलामा कसैलाई कर गरेर धेरै खुवाउनुको सट्टा स्वस्थ आहारको चलन व्यवहारमा ल्याउनुपर्छ । खाने र खुवाउने दुवैले आफ्नो र अरूको स्वास्थ्यलाई असर पुग्ने योजना बनाउनु हुँदैन । थोरै खाने र स्वस्थ खाना खाने गर्नुपर्छ । समाजमा प्रचलित भोज पार्टीको परिपाटीमा व्यापक परिवर्तन नल्याएसम्म स्वास्थ्यमा सुधार चुनौतीपूर्ण देखिन्छ । चुरोट र मदिरा सेवनमा एकअर्कालाई निरुत्साहित गर्नु जरुरी हुन्छ ।

अन्तत: व्यक्ति विशेषले आफ्नो बानी र व्यवहारमा परिवर्तन गर्नु पनि उत्तिकै जरुरी हुन्छ । रिसलाई कम गर्नु, तनावरहित वातावरणको सिर्जना गर्नु, कार्य सम्पादनलाई व्यवस्थित बनाउनु, हतारमा काम नगर्नु आदि कुरामा सुधार ल्याउनाले पनि स्वस्थ मुटु बनाउन महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।

प्रकाशितआश्विन १२२०७३ 

कान्तिपुर






Involvement with